कांग्रेसमा देउवाको विपक्षी उमेदवार आज तय होला ?

काठमाडौं । नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाको विपक्षमा उठ्ने उमेदवार तय गर्न सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुंगो लगाउन गृहकार्य भने शुरु भएको छ । नेताहरुले मंगलबार पुनः यो विषयमा छलफल गर्ने भएका छन् । प्रदेश अधिवेशन सकिएपछि सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भेला भएका थिए ।

वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सभापतिको उम्मेदवारका विषयमा छलफल भएको हो । देउवा विरुद्ध ,सहमतिमा साझा उम्मेदवार दिनुपर्नेमा भने सबै नेता तयार छन् । पछिल्लो समय वरिष्ठ नेता नेता पौडेल र महामन्त्री डा. कोइरालाले सहमतिमा आफूहरु त्याग गर्न तयार रहेको संकेत गरिरहेका छन् ।