बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यो सिजनमा ९ नाउर तथा तीन वटा झारलको शिकार गरिएको छ । यो क्षेत्र नेपालको शिकार पर्यटनको एक मात्र गन्तब्य हो । ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको आरक्ष प्रशासनले जनाएको छ । नेपालका पाँच शिकार कम्पनीमार्फत शिकार गरिएको छ । शिकारमा पुगेका विदेशी शिकारीले यस पटक निर्धारित कोटाभन्दा कम शिकार गरेका हुन् ।
पहिलो शिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । यस पटक तीन वटा झारल र एक नाउरको शिकार हुन सकेनन् । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो शिकारका लागि आएनन् । शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे ।
हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको शिकार गरे । ट्याक एण्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको शिकार गरे । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको शिकार गरे । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको शिकार गरे ।
चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको शिकार गरे । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खान्छन् । सिङ, खुर र छाला भने आफ्नो मुलुक लैजान्छन् । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन् ।