काठमाडौं । अमेरिका जान नेपालबाट हिँडेका एक युवाको पेरुमा मृत्यु भएको छ। स्थानीय संचारमाध्यमले जनाए अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको पेरुमा ज्यान गएको हो । उनको सोमबार बेलुका निधन भएको खबर छ । उनी कुन माध्यमबाट कसरी अमेरिका छिर्दै थिए भन्ने नखुलेको पारिवारिक स्रोतलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । उनको मृत्यु भएको बारे भने उनीसँगै रहेका अन्य दुई नेपालीले बताएका हुन् ।
पेरुमा हिँड्दै गर्दा छाती दुख्यो भनेर ढलेको र अस्पताल लैजानासाथ मृत घोषणा भएको जनाइएको छ । सँगै हिँडिरहेका तीन नेपालीमध्ये साहिलको मृत्युपछि अन्य दुई जना युवालाई पेरुको प्रहरीले पक्राउ गरेको समेत समाचारमा उल्लेख छ । उनको शव नेपाल ल्याउने बारे समेत अन्यौल उत्पन्न भएको परिवार स्रोतको भनाई छ । पेरुमा नेपाली दूतावास छैन । यहाँ ब्राजिलमा रहेको दूतावासले काम गर्छ ।