काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले आफु पार्टी सभापतिमा उम्मेदवार हुने अडान नछाडेका कारण संस्थापन इत्तर पक्षले उमेदवार तय गर्न अझै सकेको छैन । साझा उम्मेदवार खोजि देउवालाई टक्कर दिने रामचन्द्र पौडेल समूहको प्रयास अझै सार्थक हुन सकेको छैन । कांग्रेसको १४औं महाधिवेशन २४ मंसिरबाट शुरु हुँदैछ , तर, अहिलेसम्म साझा उमेदवार तय हुन नसक्दा देउवाको सम्भावना अझ बलियो बन्दै गएको छ । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी दर्ता र २७ गते मतदानको तालिका छ ।
सभापतिका आकांक्षीमा सहमतिको प्रयास गर्न पछिल्लो तीन दिन लगातार बैठक बस्दा पनि सहमति जुुटेन । बुधबार चाक्सीबारीमा बसेको बैठक तनावपूर्ण रहेका कारण अब साझा उमेदवार चयन हुने सम्भावना कम भएको हो । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भएको छलफलमा पौडेलले पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालालाई ‘तपाईहरु मिल्नुस्, नभए मलाई मान्नुस्’ भनेका थिए ।