काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता सोमबार ३२ अंकले बढे पनि अन्य चार दिन नेप्सेमा गिरावट आएको हो । समग्रमा यससाता नेप्से १२५ अंकले घटेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक सूचक नेप्से ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । आज २३१ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँ बराबरको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र म्यूचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै ०.६४ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपी पावर र नबिल बैंक ८/८ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.८२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, श्री इन्भेष्टमेन्ट ५.१४, एनआइसी एशिया लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयर मूलय ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
त्यस्तै, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, माउन्टेन इनर्जी, महिला लघुवित्त, न्यादी हाइड्रोपावर मनकामना स्मार्ट लघुवित्त लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । घट्दो बजारमा आज सिनर्जी पावरका सेयरधनीले भने सबैभन्दा धेरै ४.५५ प्रतिशत कमाएका छन् ।