काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशनको उद्घाटन हुनेछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ मूल नारा तय गरिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटनको कार्यतालिका छ । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने छन् । कोरोना संक्रमणका कारण कांग्रेसले शक्ति प्रदर्शन भने नगर्ने बताएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्दैछन् एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि समेत निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुनेछ ।