काठमाडौं । नेपाली कांग्रेसको १४ औँ कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारले धेरै पाठ सिकाउने बताएका छन् ।
उनले नेपालमा राजनीतिक दलहरुबिचको सम्बन्ध एकदमै राम्रो भएको बताउँदै उक्त सम्बन्ध संसारका कुनै देशमा नभएको दाबी गरे । उनले भने, ‘म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन ।’
उनले केही अघिमात्र नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पाएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा ३ घन्टा बसेको प्रति पनि खुलेर प्रशंसा गरे । देशकै प्रधानमन्त्री भएर पनि पार्टीको महाधिवेशनमा त्यत्रो समय बताउनु एक दमै राम्रो भएको वर्धनले बताए ।
उनले भने, ‘केपी ओलीजीको निमन्त्रणामा म आउन पाएको थिएँ। त्यहाँ फरक पार्टीका प्रधानमन्त्री शुभकामना दिन पुगेर ३ घन्टा बस्नु भयो। यस्तो संस्कार अन्यत्र देख्न पाइन्न ।’
नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।
कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।