कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान

रासस

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । १४ औं महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । सभापति पदमा पाँच जनाबीच प्रतिस्पर्धा भइरहेको छ । शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ नेतृत्वको होडमा छन् । बिहान ८ बजेबाट मतदान सुरू भएको हो ।
मतदानका लागि प्रदर्शनीमार्गमा तीन मतदान स्थल तोकिएका छन्। भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृहमा मतदान स्थल छ । मत खसाल्न एक हजार एक सय बुथ तयार गरिएका छन्। महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब ४५ मिनेटसम्म लाग्ने अनुमान छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लाग्नेछ ।

१२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन जारी छ । मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।

उपसभापतिलगायत अन्य पदका लागि भने मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।

सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा २८ गत पुनः मतदान हुनेछ ।