भारतीय विदेशमन्त्री पशुपति दर्शनमा, आजै स्वदेश फर्कने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पशुपतिनाथ भगवानको दर्शन गरेका छन् । त्यहा उनले पारिजातको विरुवा समेत रोपेका छन् ।

बिहावार बिहान पशुपतिनाथ दर्शन गरी अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनी बुधबार बिहान नेपाल आइपुगको हुन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकर बुधबार पनि उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

बुधबार करीव १ घण्टा प्रधानमन्त्री केपी शर्मा ओली र जयशंकरबीच छलफल भएको थियो ।

छलफलमा द्धिपक्षीय सम्बन्धका धेरै विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ ।

जयशंकर बिहीबार ३ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ । यसअघि बुधबार उनले नेपाललाई निकै लामो समयदेखि थाती रहेका प्रतिवद्धताको रकम हस्तान्तरण गरी फकाउने प्रयास गरेका छन् ।

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनेको १ खर्ब रुपैयाँमध्ये बुधबार करीव साढे दुई अर्ब रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

भारतीय राजदूत संजिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई रकम हस्तान्तरण गरेका थिए ।

उता, भारतले हुलाकी सडकका लागि सवा १ अर्बको चेक समेत बुधबार नै भौतिक सचिव देवेन्द्र कार्कीलाई हस्तान्तरण गरेको छ ।

यी दुबै कार्यक्रम परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरको उपस्थितिमा भएको थियो ।

नेपालमा भूकम्पपछि भारतले नाकाबन्दी लगाउँदा त्यसको मूख्य जिम्मेवारी जयशंकरलाई मानिएको थियो ।

त्यसबेला उनी भारतीय विदेश सचिवको जिम्मेवारीमा थिए । त्यसपछि पहिलो पटक नेपाल आएका उनले सम्बन्ध सुधारको प्रयास थालेका हुन् ।