काठमाडौं । नेपालमा आजबाट ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोर किशोरीमा कोरोना भाइरसविरुद्धको खोप वितरण शुरु हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उनीहरलाई अमेरिकामा उत्पादन भएको मोडर्ना खोपको पहिलो मात्रा दिइन लागेको हो । आजबाट पुस १४ गतेसम्म अभियान जारी रहने छ ।
प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप लगाइने भएको छ । प्रदेश नं २ मा सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा खोप लगाइने छ । खोप लगाउनेमा बागमती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर रहेका छन् ।
गण्डकी प्रदेशमा गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत छन् । लुम्बनी प्रदेशमा रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् । कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर छन् ।
अहिले पहिलो खोप लगाएका विद्यार्थीलाई दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म लगाइने भएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा समेत फाइजर खोप लगाइने भएको छ ।