न्युयोर्कमा फिल्म निर्देशक श्रेष्ठको सम्मान

बीके नेवा, न्युयोर्क ।

नेपाली चलचित्र जगतका बरिष्ठ निर्देशक, लेखक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा भव्य सम्मान गरिएको छ । न्युयोर्क नेवा: गुठीले उहाँको सम्मान गरेको हो ।
छोटो समयका लागि अमेरिका आउनुभएका बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले खादा लगाइदिएर सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।


नेपाली सिनेमामा गाउँले नामक चलचित्रको निर्देशन गरी यस क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले ३० भन्दा बढी चलचित्रमा निर्देशन गरिसक्नुभएको छ ।
हालै उहाँले घिन्ताङ नामक अन्तर जातीय फिल्म सकाएर अमेरिकाको भ्रमणमा आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेवा गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी बरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय भएको छ । उहाँले उक्त कुरा सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिनुभयो ।


कार्यक्रममा उहाँले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताउनुभयो ।


ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गर्नुभएको थियो भने कार्यत्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गर्नुभएको थियो ।