क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

AP Photo

वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।

अहिले विश्वभर प्रतिवन्ध शुरु गरिएका छन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ। अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।

आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्। हाल देखिए जस्तै अवस्था रहे अमेरिकी अस्पतालमा निकै चाप बढ्ने उनको चेतावनी छ । फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए।

उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरे । अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ। त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन्।