म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको बीबीसीले लेखेको छ ।

हत्या गरिएकामध्ये अधिकांश व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिर सार्वजनिक भएको छ । मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए। नेत्री आङ सान सू ची नेतृत्वको जननिर्वाचित सरकारलाई गत फेब्रुअरीमा हटाएर सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ।

बीबीसीले ११ जना प्रत्यक्षदर्शीसँग कुरा गरी उनीहरूले भनेका कुरालाई म्यान्मारमा मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गर्दै आएको यूकेस्थित एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेका मोबाइल फोन फुटेज एवं तस्बिरसँग तुलना गरेको छ । यीन नाम गरेको गाउँमा हत्याको ठूलो घटना भएको पत्ता लागेको छ । जहाँ कम्तीमा १४ जनालाई मृत्यु हुनेगरी कुटपिट गरिएको र पछि उनीहरूका शव जङ्गल भएको क्षेत्रमा एउटा खोल्सोमा फालिएको थियो।

यीन गाउँका प्रत्यक्षदर्शीहरूले पुरुषहरूलाई डोरीले बाँधेर हत्या गर्नुअघि कुटपिट गरिएको बीबीसीलाई बताएका छन्। एक पुरुषले हत्या गरिएकाहरूलाई सैनिकहरूले चरम यातना दिएको बताएको समेत समाचारमा उल्लेख छ । उनीहरूलाई बाँधिएको थियो, ढुङ्गाले र बन्दुकको कुन्दा हानिएको अनि दिनभरि यातना दिइएको थियो ।