काठमाडौं । नेपालमा आयात व्यापार अत्यधिक चुलिएपछि त्यसको असर बैंकको तरलतामा परेको छ । यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहन गर्न नीतिगत व्यवस्था गरेको छ । सोमबार वाणिज्य र विकास बैंकका नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित गर्न खोजेको हो । डेढ दर्जन वस्तु आयातमा बैंकले आयातकर्ताबाट तोकिएअनुसार अनिवार्य शतप्रतिशत मार्जिन बुझ्नुपर्ने नियम बनाइएको छ ।
दुई प्रकारका वस्तु आयात गर्न ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ । रक्सी, फर्निचर, मार्बल, चाँदी, अत्तर, श्रृङ्गारका सामाग्री, चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिंक्स, चुरोट आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नियम बनेको हो । गाडी र मोटरसाइकल आयातमा त्यस्तो मार्जिन रकम ५० प्रतिशत मात्रै राखेर प्रतीतपत्र खोल्न सकिने भएको छ । विद्युतीय सवारीका हकमा मार्जिनको नीति लिइएको छैन ।
यसअघि वस्तु आयातको प्रक्रिया थाल्दा नगद मार्जिन अनिवार्य थिएन । बैंकमा पैसा जम्मा भइसकेपछि मात्रै आयातकर्ताले प्रतीतपत्र खोल्न सक्ने भएका छन् । औषधिजन्य पदार्थ र औद्योगिक कच्चा पदार्थमा भने यो नियम लागु हुने छैन । आयात अत्यधिक बढ्दा व्यापार घाटा समेत चुलिएको थियो । अब यसमा केहि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।