कांग्रेसमा महिला सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला आरक्षण कोटाको मतगणना सम्पन्न भएको छ । यस कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान रहेको छ । सोमबार अबेर सार्वजनिक भएको मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । उनले २८८५ मत पाएको निर्वाचन समितिले जनाएको छ । दोस्रो स्थानमा पुष्पा भुसाल २७१८ मत पाएकी छिन् ।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा २५३६ मत सहित तेस्रो स्थानमा रहिन् । अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् । सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भएको समितिले जनाएको छ । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाको उमेदवारी परेको थियो । सबैभन्दा कम अम्बिका शर्माको १४९ मत आएको छ ।