यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

AFP/VALENTINO DARIEL SOUSA

काठमाडौं । इस्ट टिमोरमा एक अदालतले अमेरिकी क्रिश्चियन पादरीमाथि १२ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो ।


रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए । त्यस क्रममा उनले १४ वर्षमुनिका बालिकाहरूलाई यौन शोषण गर्नुका साथै तीमध्ये एकलाई बाल पोर्नोग्राफीमा लगाएको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर भएको थियो । राजधानी डिल्लीबाट २०० किमि टाढाको ओकस जिल्लामा उनले यौन दुर्व्यवहार गरेको भन्दै गत फेब्रुअरीमा मुद्दा दायर भएको थियो ।

उनले सञ्चालन गरेको टोपु होनिस आश्रयस्थलमा बालिकाहरूमाथि शोषण गरेको आरोप लागेको हो । रिचर्डको अपराधको गाम्भिर्यतालाई ध्यानमा राख्दै बढीमा ३० वर्षको जेल सजाय सुनाउनुपर्ने पीडित समूहले जनाएको छ । कट्टर क्याथोलिक राज्यको रुपमा चिनिने इस्ट टिमोर १९९९ मा इन्डोनेसियाबाट अलग भएको देश हो । जहाँ ९८ प्रतिशत क्याथोलिक क्रिश्चियनहरूको बसोबास रहेको बताइन्छ ।

उक्त राष्ट्र निर्माणको क्रममा चर्चहरूको प्रमुख भूमिका रहेको इतिहास छ । उक्त आश्रयस्थलमा विदेशी दाताहरूको पनि सहयोग रहेको थियो । मुद्दाको प्रक्रियाकै क्रममा पीडितहरूले आफूहरूमाथि धम्की आएको भन्दै गुनासो गरेका छन् ।