क्यानका ६ जना बोर्ड सदस्यले भने : खेलाडीमाथिको कारवाही फिर्ता गर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का ६ जना केन्द्रीय सदस्यले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् । क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी, सञ्जयराज सिंह र छुम्बी लामाले बुधबार पत्रकार सम्मेलन गरी खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् ।

क्यानको गत बुधबार बसेको बोर्ड वैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय समेत गरेको थियो ।

क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त पनि गरेको थियो । क्यानका ६ जना सदस्यहरुले खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको समेत बताए । क्यान विधान अनुसार नचलेको समेत उनीहरुको भनाई छ ।