दुई महिना अगाडी ग्रिसमा सवारी दुर्घटनामा ज्यान गुमाउने ४ जना नेपाली को थिए ?

File

काठमाडौं । संगठित मानव तस्करले प्रहरीको आँखा छल्दै ग्रिस पु¥याएका ४ जना नेपालीको कात्तिक २५ मा भएको दुर्घटनामा ज्यान गएको थियो । तर, उनीहरुको पहिचान खुलेको थिएन । गत सोमबार उनीहरुको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा दुर्घटनामा ७ जनाको ज्यान गएको थियो । जसमा चार जना नेपाली थिए ।


प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले नेपालीको पहिचान गर्न दुर्घटनामा मृत्यु भएकाको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिरमा परिवारले सोमबार सनाखत गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको दुर्घटनामा ज्यान गएको छ । ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले गाडी चलाएका थिए ।

कालो कारमा १५ जना चढेका थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएको थियो । कारको डिक्कीमा मात्रै चार जना कोचिएको पाइएको छ । दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।