अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

Photo source : Axios

लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ।

तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने क्षमता राख्छ । जसले गर्दा अस्पतालमा भिड हुनसक्ने चिन्ता समेत अध्ययनको छ । बेलायतमा बुधवार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्।

ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ। स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ। त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ ।

अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ। पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले एउटा राम्रो समाचार भएको बताएका छन्। ओमिक्रोन भेरियन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए।

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरिअन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ। तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिअन्ट र अन्य भेरिअन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ।

लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ। अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ। सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।