विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको छ ।

यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप समेत पाइन्छ । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ । जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुन्छ । बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप २१ लाख ७६ हजार ६५० मात्रा ल्याइएको हो । अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइसकिएको छ ।