गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ ।

इन्टरनेटका वेबसाइटहरूको नयाँ वरियता सूचीमा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो । त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थानमा रहेको छ । गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स लगायतका साइट प्रथम दशमा थिए ।

क्लाउड फ्लेअरका अनुसार वेबसाइटमा जाने ट्राफिकको निगरानी गर्ने उसको उपकरण क्लाउड फ्लेअर रेडारको प्रयोग गरेर डेटा अनुगमन गरेको हो । टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको बीबीसीले लेखेको छ ।

यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप तीन अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ। बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।