काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हुबहु सम्झौता गर्न नहुने पक्षमा छ । सोही पार्टीको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी नेपालको हितमा रहेको बताए ।
देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले नपढी त्यसो भनेको समेत बताए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघात ? मैले त कहीं देखेको छैन’ उनले भने ।
‘म नेपालको प्रधानमन्त्री हुँ । नेपाल राष्ट्रको खिलाफमा जाउँला ?’ उनको प्रश्न थियो । आफु प्रजातन्त्रका लागि लडेको मान्छे भएको भन्दै उनले राष्ट्रघात नगर्ने उल्लेख गरे । कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उल्लेख गरे । वर्ल्ड बैंक, एडीबीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून लागू हुने भन्दै उनले एमसीसी सित्तैं आएको समेत उल्लेख गरे ।