आजबाट माओवादी केन्द्रको बन्दसत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन जारी छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको हा । आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।

प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिने भएको छ । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ ।

एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।