नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले समेत शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू शुरु गरिसकेका छन् । उत्तर प्रदेश र नयाँ दिल्लीमा कोरोना बढ्दा त्यसको असर नेपालमा पनि पर्छ ।
कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारको घोषणा छ । राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।