नेपालमा मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र राख्न पाउने

Photo : BBC

काठमाडौं । नेपालमा मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र राखेर सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अब सबै मेडिकल कलेज र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालमा खोप केन्द्र सञ्चालन गर्न सकिने छ ।

सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ । सरकारको नियमभित्र रही खोपको उपलब्धताको आधारमा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप दिन सकिने बताइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गरिरहेको भन्दै मेडिकल कलेज तथा निजी अस्पताहरुलाई मन्त्रालयले आह्वान समेत गरेको छ ।