काठमाडौं । नेपालमा हिउँदे वर्षाका कारण देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको हो । यसले चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको हो ।
जुम्ला, जोमसोम र जिरीलगायत स्थामनमा तापक्रम माइनसमा झरेको छ । जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम ११ दशमलव २ डिग्री सेल्सियस छ । जोमसोममा न्यूनतम तापक्रम माइनस एक दशमलव २ र जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पगेको छ । तराई भेगमा शितलहरको जोखिम बढेको छ ।