वासिङ्टन डिसि । रुसले अमेरिकालाई युक्रेनमा थप प्रतिवन्ध नलाउन चेतावनी दिएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा रुसि रास्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताएका हुन्। रुसमा प्रतिवन्ध लागेमा रुस र अमेरिकाको सम्बन्ध मै असर पुग्ने उनको चेतावनी छ ।
बिबिसीका अनुसार बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताए ।
रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो। बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ।
युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।
अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ। दुई राष्ट्रपतिबीचको कुराकानी झण्डै एक घण्टा चलेको थियो। तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ।
उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ। रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ।