काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डमै पुगेर प्रमुख कार्यकारी अधिकृत (सिइओे)को आलोचना गरेका छन् । बोर्डको २३ औं वार्षिकोत्सवको अवसरलाई आज सम्बोधन गर्ने क्रममा उनले सिइओ जनञ्जय रेग्मीलाई साँढेको संज्ञा दिएका हुन् ।
रेग्मीलाई सिइओ पदमा राखेर संस्था उभो नलाग्ने मन्त्री आलेको निष्कर्ष छ । आफूलाई बेलायत भ्रमण जाँदा उनमै कारण बेकारमा गएजस्तो लागेको सुनाउँदै उनले भने, ‘यस्तो साँढेलाई राखेर संस्था चल्छ ?’ सिइओ रेग्मीलाई आफूले सम्झाउन खोज्दा उल्टै ‘तपाईं धेरै रिसाउनुभयो, लौ हिँड्नुस् रक्सी खान’ भनेको आरोपसमेत लगाए ।
‘चारवटा टोयटा गाडी बेचेर प्रेम आलेको इमान खरिद गर्छु भन्नेबारे सपनामा पनि नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो कुर्सीमा बस्नेवाला छैन ।’
सिइओ रेग्मीमाथि हाल बोर्डले छानबिन गरिरहेको कारण उनी बोर्डको नियमअनुसार स्वतः निलम्बनमा परेका छन् । तर, सर्वोच्च अदालतले भने रेग्मीलाई निलम्बनको निर्णय कार्यन्वयन नगर्न आपतकालीन फैसला गरेको थियो ।
आर्थिक अनियमिततालगायत विभिन्न आरोप लागेसँगै पछिल्लो समय भन्सारको कर्मचारी कुटेर विवादमा तानिएपछि उनीमाथि बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको हो ।