तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने पर्यटनमन्त्रीको सपना पुरा होला ?

काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनबारे अन्यौल कायम रहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन भित्र उद्घाटनको घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले ‘क्यालिब्रेसन उडानको तयारी भइरहेको समेत जानकारी गराए । यन्त्रहरुको परीक्षणका लागि गरिने यस्तो उडान जनवरी भित्रै गर्ने तयारी प्राधिकरणको रहेको छ ।

भारतीय पक्षसँग एयर रुटको विषयमा कुरा भइरहेको भन्दै मन्त्री आलेले भारतको आलटालका कारण समेत यो विमानस्थल संचालनमा अलमल भइरहेको संकेत गरेका छन् । भारतले रुटको अनुमति दिएपछि व्यावसायिक उडानको बाटो खुल्ने छ । यो विमानस्थल भारतको सीमा क्षेत्र नजिकै छ । सोहीकारण भारतले यसमा उडानको अनुमति दिनुपर्छ । मन्त्री आलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालन गर्नेगरी तयारी गर्न निर्देशन दिए ।