काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनले
केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो । प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका छन् ।
बीबीसीका अनुसार सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।
प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिए । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको बताएका छन् ।
अक्टोबरमा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बनेका थिए । सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।
सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?
