काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार पदाधिकारी चयन गर्ने भनिए पनि चयन हुन सकेन । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने जानकारी बैठकमा गराए ।
बैठकपछि पत्रकारसँग बोल्दै प्रचण्डले नेताहरु वर्षमान पुन र ओनसरी घर्तीसँग पनि सल्लाह गरेर पदाधिकारी चयन गरिने उल्लेख गरे । स्वास्थ्य उपचारका लागि हाल चीनमा रहेका पुन र उनकी पत्नी ओनसरी घर्ती मंगलबार नेपाल आउने भएका छन् । त्यसपछि उनीहरुसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने अध्यक्ष प्रचण्डले बताए ।