काठमाडौं । नेपालमा बुधबारबाट मौसम प्रतिकुल बन्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएसङ्गै मौसम प्रतिकुल बन्ने भएको हो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यो साताभर वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदले अनुमान गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम क्षेत्रमा अहिले यसको सामान्य प्रभाव देखिइसकेको छ । अहिले सो क्षेत्रमा बादल लागेको छ । सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने छ ।
आइतबारदेखि भने यो प्रणाली कमजोर हुने र मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव देशभर पर्ने छ । विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव देखिने छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
साथै बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा मंगलबार र बुधबार कम तथा बिहीबार, शुक्रबार र शनिबार बढी प्रभाव पर्नेछ । अन्य प्रदेशहरुको तुलनामा यसको प्रभाव प्रदेश १ र २ मा कम पर्ने अनुमान छ ।