धरानमा खुल्यो फोहोरमैला प्रशोधन केन्द्र, प्रधानमन्त्रीद्वारा उदघाटन

धरान । धरानमा फोहोरमैला प्रशोधन केन्द्र स्थापना भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिका–६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रको मङ्गलबार उदघाटन गरेका हुन् । फोहोरमैला प्रशोधन गरि उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर प्रधानमन्त्री देउवाले टेम्पोको शुभारम्भ समेत गरे ।

गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि मंगलबार सो केन्द्रको उद्घाटन गरिएको हो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताएका छन् ।

२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको भने लगानी छैन ।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।