काठमाडौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन्।
जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको नाममा दावी विरोधका लागि पुस २१ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ । २२ र २३ गते उजुरीउपर छानविन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । अधिकांश सिटमा ५ दलीय गठबन्धनले नै जित्ने निश्चित जस्तै छ ।
यी हुन उम्मेदवारी दिनेहरु:
कुन दलबाट को उम्मेदवार
नेकपा एमाले
नेकपा एमालेका तर्फबाट प्रदेश १ मा गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन्। प्रदेश २ मा उसमान अन्सारी र विना र साह, बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर उम्मेदवार बनेका छन्।
यस्तै गण्डकीमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन्। कर्णालीमा पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा तथा सुदूरपश्चिममा सन्तोषकुमारी शर्मा थापा, नरेश विक र डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।
नेपाली कांग्रेस
सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो मागमा परेको प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएको छ।
नेकपा (एकीकृत समाजवादी)
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी साह (गरिमा)लाई उम्मेदवार बनाएको छ।
यस्तै जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेशमा खालिद सिद्दिकीलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ।
लोसपाले प्रदेश २ मा श्याम सरदार र रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश विश्वकर्मालाई उम्मेदवार बनाएको छ।
नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ।