काठमाडौं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य तोक्ने निर्णय गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको छ । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ हो । यसमा उखुको न्यूनतम लागत ३८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ र मुनाफा ७६ रुपैयाँ देखिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उखुको मूल्य निर्धारण गर्नु अगाडी किसान र चिनी उद्योगीसँग छलफल गरिएको थियो । उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० र किसानले ६५० रुपैयाँ हुनुपर्ने माग गरेका थिए । उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । सरकारले गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । अअिले पनि किसान यो मूल्यबाट भने सन्तुष्ट छैनन् ।