काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीवार टेलिफोन वार्ता भएको छ । जयशंकरले ट्वीट गर्दै यसबारे जानकारी गराएका छन् । उनका अनुसार टेलिफोन कुराकानीमा उहाँहरूबीच प्रधानमन्त्री शेरबहादुर देउवाको स्थगित भारत भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा चर्चा भएको छ ।
‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि स्थगित भएको छ । भारतका विदेशमन्त्री जयशंकरले आफूले नेपालका परराष्ट्रमन्त्री खड्कासँग नयाँ वर्षको अवसरमा टेलिफोनमा कुराकानी गरेको बताएका छन् । दुई देशबीचको विकास साझेदारी र कोभिड सहकार्य उल्लेखनीय रहेको भन्दै उनले सहयोगको दृश्यलाई फराकिलो बनाउन सहमत भएको समेत उल्लेख गरेका छन् ।