काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन आज हुने भएको छ । यसअघि विभिन्न कारणले स्थगित गरिएका बाहेकका जिल्लामा अधिवेशन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको एकसाथ उदघाटन गर्ने भएका छन् । काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने तयारी गरेको सार्वजनिक भएपछि कोरोना संक्रमण बढ्ने भन्दै आलोचना भएको छ ।
एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लमा केही दिनदेखि नै खटिएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।