प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च माओवादी नेतालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएसँगै माओवादी पार्टीले महाधिवेशनमा सहभागी भएका १,७०० प्रतिनिधिलाई समेत कोरोना भाइरस परीक्षण गर्न भनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको छ ।

कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ। शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

उनी अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्ड केही दिन आइसोलेसनमा रहने समेत बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार मात्रै माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए ।