कोरोना संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द

फाइल तस्वीर (THT)

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि देशभरका विद्यालय १५ माघसम्म बन्द गर्ने निर्णय लिएको छ । आइतबार प्रतिबन्धात्मक व्यवस्था लागू गर्दै सरकारले यस्तो घोषणा गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार आइतबार नेपालमा ११६७ जनामा कोरोना भाइरस संक्रमण देखिएकोृ छ ।

कोरोनाको बढी संक्रमण काठमाडौं उपत्यका र सीमा नाका भएका शहरमा बढी छ । अहिले नेपालमा संक्रमण दर ९.५ प्रतिशत रहेको छ । डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्ट दुबैको संक्रमण समुदाय स्तरमा पुगेको छ । सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरिएको छ ।

कतिपय विद्यालयमा हिउदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय भएको हो विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन समेत सरकारले आह्वान गरेको छ । सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा बार्षिक परीक्षा रोकिने छैनन् ।