काठमाडौं । भारतले लिपुलेकको नेपाली भूमिमा सडकसहितका संरचना बनाउँदा पनि सरकार नबोलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले खबरदारी गरेको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति निकाल्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेको उल्लेख गरेका छन् । यस विषयामा एमालेको ध्यानाकर्षण भएको समेत उनले उल्लेख गरेका छन् ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेको धारणा छ । सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउने भन्दै एमालेले विज्ञप्तीमा लेखेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’ भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।