काठमाडौं । सरकारले दुधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले यस्तो तयारी गरि दुधको नयाँ मूल्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डका अनुसार अब प्रशोधित दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ हुने गरि सिफारिस भएको छ । अहिले ७६ रुपैयाँ प्रतिलिटर रहेकोमा १० रुपैयाँ मूल्य बढ्ने भएको हो । मूल्य बढाउन बोर्डले एक सिफारिस समिति गठन गरेको थियो ।
समितिले बनाएको प्रतिवेदनका आधारमा १० रुपैयाँ मूल्य बढाउन लागिएको हो । बोर्डको सिफारिसबारे अब कृषि मन्त्रालयले सरोकारवालासँग छलफल गर्नेछ । त्यसपछि मूल्य घोषणा गर्ने तयारी छ । सरकारी संचारमाध्यम गोरखापत्रले जनाए अनुसार लिटरममा १० रुपैयाँ बढाएर त्यसको ७० प्रतिशत कृषक र ३० प्रतिशत उद्योगीलाई दिने तयारी छ ।
किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाइएको छ । त्यसमा २.३६ पैसा मुनाफा राखि किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपैयाँ कायम गरिएको छ ।