उकालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको करेक्शन

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाताको सुरुका तीन दिनमै १४२ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

आइतबारदेखि लगातार दोहोरो अंकले बढेको बजारमा आज प्रफिट बुक गर्नेहरु हाबी हुँदा करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर ८ अर्ब नाघेको छ । यो पछिल्लो दुई महिना यताकै धेरै हो ।

बुधबार सेयर बजार मापक सूचक नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ विन्दुमा आइपुगेको छ । आज २२९ कम्पनीको ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार, लगानी र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । लगानी समूह सबैभन्दा धेरै ३.१३ प्रतिशतले बढेको छ भने अन्य समूह ३.४४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, होटल, फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार भएका २२९ कम्पनीमध्ये ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एचआइडीसीएल साढे २७ करोड र अपी पावरको २४ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नारायणी विकास बैंक र मध्य भोटेकोशी हाइड्रोपावरका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.२१ प्रतिशतले घटेको छ । त्यसैगरी, युनियन हाइड्रोपावर ५.५३, जोशी हाइड्रोपावर ५.४९, छ्याङ्दी हाइड्रो, प्रुडेन्सियल इन्स्योरेन्स, तारागाउँ होटल, तेह्रथुम पावर, नेपाल हाइड्रो, मल्टिप्रपोज फाइनान्स, सिभिल लघुवित्त, ओरेन्टल होटल र सेन्टर फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।