नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् । अब देशभर १८ हजार २३ सक्रिय संक्रमित रहेको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै २६०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुगेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको छ ।