सिड्नी । सर्वियाका टेनिस स्टार नोभाक जोकोभिकको भिसा अस्ट्रेलियाले दोस्रो पटक रद्द गरेको छ । कोरोनाविरूद्धको खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै दोस्रो पटक उनको भिसा रद्द गरिएको हो। ३४ वर्षीय जोकोभिकले यो निर्णयविरुद्ध अर्को कानुनी लडाइँ लड्ने बाटो बाँकी नै रहेको समाचार छ । अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिकले आगामी सोमबार पुरुष एकलमा प्रतिस्पर्धा गर्ने खेल तालिका छ। यसअघि गत सोमबार जोकोभिकको भिसा रद्द नगर्न अस्ट्रेलियाको एक अदालतले सोमबार आदेश दिएको थियो।
सर्किट कोर्टका न्यायाधिस एन्थोनी केलीले भिसा रद्द गर्ने यसअघिको निर्णय खारेज गरिदिएका थिए भने मेलवर्नको होटल क्वारेन्टिनबाट ३० मिनेट भित्रमा छाड्न पनि आदेश दिएका थिए। खोप नलगाइ अस्ट्रेलिया छिरेको भन्दै जोकोभिकको भिसा पहिलो पटक रद्द गरिएको थियो। अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका उनले डिपोर्ट गर्ने र भिसा रद्दविरूद्ध मुद्दा दायर गरेका थिए।