काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट यसअवधिमा ४ जनाको मृत्यु भएको छ । अहिले देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।
अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् । यसअवधिमा काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।