काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । यसअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले समेत लकडाउन हुन्छ की भन्ने त्रासमा नबस्ने आग्रह गरेका थिए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको भन्दै उनले कतिपय क्षेत्र बन्द गर्नुपर्ने भए दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिने बताए ।
१८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको जानकारी उनले दिए । अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।