काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ । जसमा तीनजना त्यहीँका नागरिक र एक ब्रिटिश महिला रहेको खबर छ । टोङ्गा सरकारले ज्वालामुखी विस्फोटनलाई अभूतपूर्व विपद्को संज्ञा दिएको छ ।
धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको बताइएको छ । बुधवार बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गाटपुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताए । उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै उडानहरू सुरु हुनसक्ने जनाएका छन्।
समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध आएपछि बाँकी विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको हो । न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीसाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ। टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।