काठमाडौं । काठमाडौं उपत्यकामा चुलिएको कोरोना भाइरसको संक्रमणसँगै सरकारले थप कडाई गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू हुने छ ।
शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने छ । यो दुई पांग्रे सवारीमा समेत लागू हुने छ । सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । यातायातका साधनमा मास्क अनिर्वाय लगाउनु पर्नेछ । शुक्रबारबाट सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको छ । हवाई यातायातमा पनि खोप कार्ड देखाउनु पर्छ ।