चितवन । नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाउन थालिएको छ । ठूलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयको भनाई छ ।
सो ठाउँमा बर्खायाममा पहिरो गएर पटक–पटक यातायात अवरुद्ध हुने गरेको थियो । तर टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको हो । यो सडक खण्ड नेपालको सबैभन्दा व्यस्त र महत्वपूर्ण सडक हो ।