काठमाडौंमा नक्कली महको ठूलो धन्दा, एक जना पक्राउ

काठमाडौं । काठमाडौंमा ठूलो मात्रामा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री हुने गरेको खुलेको छ । प्रहरीले यस काममा संलग्न भएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो । प्रहरीको अपराध महाशाखाले ठूलो मात्रामा मह, कच्चा पदार्थलगायत सामाग्रीसहित स्पर्श हनीका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको जनकारी गराएको छ ।

प्रहरी टोलीले गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन तथा केमिकलसमेत बरामद गरेको छ । श्रेष्ठले ७ वर्षदेखि महको व्यापार गर्दै आएका थिए। सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ६ का ३८ वर्षीय उनकी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नामको कम्मनी खोलेर महलाई बजारसम्म पुर्‍याउने गरेका थिए। उक्त कम्पनीको मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टहरुमा थोक तथा खुद्रामा बिक्री हुँदै आएको महाशाखाले बताएको छ।

श्रेष्ठले दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी मह बनाएर बजारमा प्रतिकेजी ६५० रुपैयाँमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर उक्त स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत नभएको प्रहरीको ठहर छ । उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परिक्षण गर्दा एएमएफ र एफरजी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको खुलेको छ ।